२० जेठ, वीरगंज
हरेक बजेटमा अनुमान गरिएको पुँजीगत खर्च अनुमान भन्दा निकै न्युन हुँदा विकास निर्माणका लागि सोचे जसरी अघि नबढेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । समृद्ध नेपालको परिकल्पना गरिरहेको बेला देशमा पुँजीगत खर्च भने निकै कम हुने गरेको तथ्यांक रहेको वक्ताहरुको भनाई छ । नेताहरुले देशले विकासमा फड्को मारिरहेको भनेर जतिसुकै चर्चा गरेपनि त्यसलाई तत्थांकले गलत सावित गरेको वक्ताहरु बताउँछन् ।
हाम्रो अभियान र तन्नेरी चासोको संयुक्त अभियान बजेट बहस अन्र्तगत मंगलबार बजेट र आम नागरिकको चासो विषयक भर्चुअल बहसमा बोल्दै वक्ताहरुले यस्तो बताएका हुुन् ।
बहसमा चर्चा गर्दै उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनका पत्रकार अर्जुन पोखरेलले आर्थिक वर्ष २०७८ र ७९ लागि आएको बजेटमा उठाउने कर भन्दा चालु खर्च बढी राखिएको जिकिर गरे । यसर्थ, हामीले दिने करबाट एक रुपैंया पनि विकास निर्माण जानेवाला स्थिति नरहेकाले विकास खर्च पूरै अनुदान र कर्जामा भरपर्नु पर्ने स्थिति रहेको उनले भने । चालु खर्च घटाएर पुँजीगत खर्च बढाउन सुझाव दिइए पनि सरकारले घटाउन नचाहेको तथ्य पनि उल्लेख गरे । पुँजीगत खर्च बढाउनुको साटो चालु खर्च भने अत्याधिक मात्रामा हुने गरेका उनको विश्लेषण छ ।
बजेटमा आम मानिसको चासो कसरी हुन्छ भन्ने विषयमा बोल्दै बजेट सबैसँग सम्बन्धित रहेको हुनाले सबैको चासो रहने गरेको बताए । पत्रकार पोखरेलले बजेट कसरी विभिन्न क्षेत्र र व्यक्तिको चासोमा पर्ने भन्ने कुरा विभिन्न उदाहरण दिदैं चर्चा गरे । देशको आर्थिक क्षेत्र चलायमान बनाउन गरिने अनुमान बजेट भएको भन्दै बजेटमा भएका पुरैका पुरै कुरा कार्यान्वयन हुन्छ भन्ने नहुने पत्रकार पोखरेलले बताए ।
यस्तै, बहसमा भाग लिदैं अर्का पत्रकार धनगढीका मनमोहन स्वाँरले आम मानिसले बजेटबाट आफुलाई प्रत्यक्ष प्रभाव पार्ने कुरा चासो राख्ने गरेको अनुभव सुनाए । आम नागरिकलाई कुनै पनि बजेटले कहाँनेर छुन्छ भन्ने विषय नै मुख्य कुरा भएको उनले बताए । उनले हालसम्म केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बजेट ल्याउन अवलम्बन गरिएका प्रयास र त्यसले देखाएका प्रतिफलको बारेमा चर्चा गर्दै आम नागरिकलाई कुनै पनि बजेटले छुन नसकेको तथ्य उल्लेख गरे । बजेटमा आम नागरिकको कुराको सुनवाई वा यसबारे चासो नराखिने गरेका पत्रकार स्वाँर भन्छन् । उनी थप्छन्, चुनावको बेला मात्र आम मानिसको सुनुवाई र चासोबारे सुन्ने चेष्टा गरिन्छ ।
उनी भन्छन्, बजेटले आम मानिसलाई छुनु कता को कता, बरु उल्टै हरेक बजेटले आम मानिसमा त्रास सिर्जना गर्ने गरेको छ । बजेटले त्रास कसरी सिर्जना गर्छ भन्ने प्रश्नमा उनले मुल्यवृद्धि यसको कारण भएको तर्क गरे । बजेटबाट सिमित क्षेत्र र व्यक्तिलाई हुने लाभ वृद्धिले मूल्यवृद्धि भएर आम मानिसलाई असर गरिरहेको बताए । समग्रमा भन्नुपर्दा बजेटमा आम मानिसको चासो र त्यसको सम्बोधन कत्तिको हुन्छ, कार्यान्वयन कत्तिको हुन्छ र आम मानिसको जीवनस्तरमा फरक पार्छ कि पार्दैन भन्ने विषय नै सबैको चासो रहने गरेको पत्रकार स्वाँरले बताए ।
हाम्रो अभियानका शिवनाथ यादवले सहजीकरण गरेको कार्यक्रममा युवाहरु कविता खड्का, सन्ध्या पौडेल, दिपज्योति श्रेष्ठ लगायतले पनि बसहमा भाग लिएका थिए । बहसमा युवाहरुले उठाएका जिज्ञासाहरुको पत्रकार द्वय पोखरेल र स्वाँरले जवाफ दिएका थिए ।